युईएफए युरोपा लिगअन्तर्गत प्लेअफको पहिलो लेगमा पोर्चुगिज क्लब एफसी पोर्टो र इटालियन क्लब एएस रोमाले बराबरी खेलेका छन् ।
विहिवार राति भएको खेलमा पोर्टो र रोमाले १–१ गोलको बराबरी खेलेका हुन् । पोर्टोको घरेलुु मैदानमा भएको खेलमा रोमाका लागि मेहमेट जेकी सेलिकले र पोर्टोका लागि फ्रान्सिस्को मौराले गोल गरे ।
पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा सेलिकले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए । तर, खेलको ६७औं मिनेटमा मौराले पोर्टोका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
ब्रायन क्रिस्टेन्टेले ७२औं मिनेटमा दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि रोमा १० खेलाडीमा समेटिएको थियो । अब यी दुई टोलीबीचको दोस्रो लेग खेल अर्को साता रोमाको घरेलु मैदानमा खेल्नेछ ।
यस्तै अर्को खेलमा स्पेनको रियल सोसिडाडले भने डेनमार्कको मिटिल्याण्डालाई २-१ ले हरायो ।
