भुटानी राष्ट्रिय फुटबल टोलीका कप्तान चेन्चो ग्याल्सेनले ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।

साबिक विजेता ललितपुरले २८ वर्षीय ‘भुटानी रोनाल्डो’ लाई एनएसएलको तेस्रो संस्करणका लागि भित्र्याएको हो । विंगर ग्याल्सेन दोसोपल्ट नेपाल आउन लागेका हुन् ।

यसअघि उनले मच्छिन्द्र फुटबल क्लबबाट २०७९ को ‘ए’ डिभिजन लिगसमेत खेलिसकेका छन् ।

सात खेल खेलेका उनले मच्छिन्द्रबाट एक गोल गरेका थिए। त्यसपछि चोट बोकेका उनी स्वदेश फर्किए ।

उनले भुटानी टोलीबाट १३ गोल गरेका छन् । उनीले यसअघि इन्डियन सुपर लिग (आइएसएल) मा केरला ब्लास्टर्स, बेंगलुरु र पञ्जाबबाट एफसीबाट खेलिसकेका छन् । ललितपुरले यसअघि हाइटीका पूर्वविंगर केर्भेन्स बेलफोर्ट अनुबन्ध गरेको थियो ।

३२ वर्षीय बेलफोर्टले अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए । सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका उनले १४ गोल गरेका छन् ।

गत संस्करणको विजेता ललितपुरले नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ‌लाई मार्की प्लेयरमा निरन्तरता दिएको छ । यस्तै, सनिश श्रेष्ठ र आदित्य शाक्य रिटेन गर्दा मणिकुमार लामा र सन्तोष खत्रीलाई चार/चार लाख खर्चिएर ‘ए’ क्याटोगोरीबाट भित्र्याइसकेको छ ।

सुदीप गुरुङ, योगेश गुरुङ, नवीन लामा, अभिषेक वाइवा र सुमित श्रेष्ठलाई पनि ललितपुरले अक्सनबाट लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *