साविक विजेता न्युरोड टिम एनआरटी धरानमा जारी २५औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार धरान रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा युनाइटेड खर्साङ क्लब (युकेएफसी) लाई ३-१ गोलअन्तरले पराजित गर्दै एनआरटी फाइनलमा प्रवेश गरेको हो ।

एनआरटीलाई फाइनलमा पुर्याउन प्रदीप बुढाथोकीले २ तथा शिशिर लेखीले १ गोल गरे । युकेएफसीका लागि हेमराज भुजेलले १ गोल फर्काए ।

खेलको २८औं मिनेटमा शिशिरको गोलमार्फत एनआरटीले सुरुआती अग्रता लिएको थियो । तर, खेलको ३१औं मिनेटमा युकेएफसीका हेमराजले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

तर, पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा प्रदीपले गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए । पहिलो हाफमा २-१ को अग्रता लिएको एनआरटीले दोस्रो हाफमा थप एक गोल गर्यो ।

खेलको ७५ औं मिनेटमा प्रदीप बुढाथोकीले व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटी ३-१ ले बिजयी भयो । खेलको म्यान अफ दि म्याच एनआरटीका शिशिर लेखी घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

जितसँगै लगातार दोस्रोपटक बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको एनआरटीले अब उपाधिका लागि शनिबार चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

चर्च ब्वाइज युनाइटेड यसअघि नै भुटानको आरटीसी फुटबल क्लबलाई ७-० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगिसकेको छ । बुढासुब्बा गोल्डकफको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *