मकवानपुर । चर्च ब्वाइज युनाइटेड मकवानपुरमा जारी सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
शुक्रवार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई ३-२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
चर्च ब्वाइजको जितमा विदेशी खेलाडी आर्मण्डले खेलको दोस्रो हाफको २८औं र ३२औं मिनेटमा गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५ औं मिनेटमा गोल गरे।
एपीएफका लागि बुद्धिमान राईले खेलको पहिलो हाफको ३६औं मिनेटमा र हरि कार्की दोस्रो हाफको ४३औं मिनेटमा गोल गरे ।
खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका आर्मण्ड घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
जितसँगै चर्च ब्वाइज गोल्डकपको फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । प्रतियोगितामा एपीएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
एपीएफ गत संस्करणको उपविजेता हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो । गत संस्करणमा एपीएफ मछिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
प्रतियोगिता अन्तर्गत शनिबार हुने दोस्रो सेमिफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच हुनेछ ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । फाइनल खेल फागुन १२ गते हुनेछ ।
