एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई अनुबन्ध गरेको छ ।
चितवनले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत न्यौपानेलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको जानकारी दिएको छ ।
यसअघिका दुई संस्करणमा पोखरा थण्डर्सका मुख्य प्रशिक्षक रहेका न्यौपाने तेस्रो संस्करणमा भने फरक क्लबको प्रशिक्षक बन्ने भएका हुन् । एनएसएलको तेस्रो संस्करण आगामी चैत १६ गतेदेखि सुरु हुदैछ ।
पहिलो सिजन पोखरा लिग चरणबाटै बाहिरिइएका थियोे भने गत संस्करण दोस्रो क्वालिफायर खेल्यो । चितवन भने दुवै संस्करण लिग चरणबाटै बाहिरिइएको थियो ।
नेपाली राष्ट्रिय टिम र मनाङ मर्स्याङ्दी लगायत क्लबका पूर्व खेलाडी समेत रहेका न्यौपानेले केही समयअघि नेपाली पुरुष सिनियर फुटबल टिमको अन्तरिम प्रशिक्षकको भूमिका समेत निभाएका थिए ।
राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक खाली रहेका बेला ताजिकस्तानमा भएको त्रिदेशिय मेत्रीपुर्ण खेलमा न्यौपानेले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए । जहाँ नेपाल ताजिकस्तानसँग पराजित हुँदा अफगानिस्तानलाई हराउन सफल भएको थियो ।
