विराटनगर । कोशी प्रदेशमा पहिलोपटक खेलकुद महोत्सव हुने भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले आगामी फागुन १३ देखि १८ गतेसम्म प्रथम संस्करणको कोशी प्रदेश खेलकुद महोत्सव आयोजना गर्न लागेको हो ।

प्रदेशका १४ जिल्लाका खेलाडीहरू सहभागी हुने यस महोत्सवमा एथलेटिक्स, कबड्डी, डोरीतान, सफ्ट टेनिस, कराते, तेक्वान्दो, बुद्धिचाल, बाघचाल, महिला फुटबल, महिला भलिबल र टेबलटेनिस गरी ११ खेल समावेश गरिएको छ ।

खेलकुद महोत्सवको उद्घाटन कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले गर्ने छन् ।

मोरङ र झापा जिल्लाका विभिन्न खेल मैदानहरूमा प्रतियोगिता सञ्चालन हुने कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष कृष्ण बस्नेत ‘पर्शुराम’ ले जानकारी दिए ।

करिब एक करोड ७९ लाख रुपैयाँ लागत अनुमान गरिएको यस प्रतियोगितामा बोर्डले एक करोड २० लाख रुपैयाँ व्यहोर्ने र बाँकी रकम प्रदेश सरकार, निजी क्षेत्र र खेलप्रेमीहरूको सहयोगबाट जुटाइने बताइएको छ ।

प्रदेशमा खेलकुद क्षेत्रलाई सक्रिय बनाउने र खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले जानकारी दिए ।

आगामी चैत्र तेस्रो साताबाट सुरु हुने दसौं राष्ट्रिय खेलकुदको तयारीस्वरूप महोत्सव गर्न लागिएको उनको भनाइ छ ।

खेलकुद विकास बोर्डले खेलाडी तथा आगन्तुकहरूको स्वागतका लागि विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरेको छ ।

खेलकुद महोत्सवको समापन भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *