स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल ड्र सार्वजनिक भएको छ ।
बुधबार ड्र अनुसार सेमिफाइनलमा बार्सिलोना र एट्लेटिको मड्रिड सेमिफाइनलमै भिड्ने भएका छन् । यो खेल दुवै टिमका लागि उत्तिकै कठिन हुनेछ । एट्लेटिको र बार्सिलोना दुवै यस सिजन ला लिगाको उपाधि होडमा निकै बलिया देखिएका छन् ।
त्यसैगरी, दोस्रो सेमिफाइनल खेलमा रियल मड्रिडडले रियल सोसिडाड प्रतिस्पर्धी पाएको छ । तुलानात्मक रूपमा बार्सिलोना र एट्लेटिको भन्दा रियलले सहज प्रतिस्पर्धी पाएको छ ।
कोपामा सेमिफाइनल अन्तर्गत पहिलो लेगका खेल फेब्रुअरी २६ मा हुनेछन् । सेमिफाइनलमा होम एन्ड अवे गरी दुई लेगको ढाँचामा खेल हुने नियम छ । दुई लेगको नतिजाका आधारमा फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ । दोस्रो लेगका खेल अप्रिल २ मा हुनेछन् ।
बार्सिलोना र एट्लेटिको मड्रिडको पहिलो लेगको खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ भने रियल मड्रिड र रियल सोसिडाडको खेलको पहिलो लेग सोसिडाडको घरमा हुनेछ ।
यी दुई सेमिफाइनल खेलबाट बार्सिलोना र एट्लेटिकोभन्दा रियल मड्रिड ज्यादा उत्साहित हुन सक्छ । किनभने, सेमिफाइनल जित्नका लागि बार्सिलोनाभन्दा रियल मड्रिडलाई सजिलो हुनेछ । बार्सिलोना र एट्लेटिको मड्रिडबीच हुने खेलको विजेताले फाइनलमा रियल मड्रिड प्रतिस्पर्धी पाउने सम्भावना धेरै छ ।
