म्यानमारले नेपालमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा लगातार दोश्रो जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० गोलले हराउँदै लगातार दोस्रो जित हासिल गरेको हो ।
म्यानमारको जितमा यून वादी र मे एचटेट लुले समान दुई गोल गर्दा सन्दर लिनले एक गोल थपिन् ।
वादीले खेलको दोस्रो र ४१औं तथा लुलेले ३८ र ४९औं मिनेटमा गोल गरिन् । यस्तै, लिनले ३०औं मिनेटमा गोल गरेकी थिइन् । पहिलो हाफमा चार गोल गरेको म्यानमारले दोश्रो हाफमा एक गोल थप्यो ।
जितसँगै दुई खेलबाट ६ अंक जोडेको म्यानमार शीर्ष स्थानमा रहेको छ । यसअघि पहिलो खेलमा म्यानमारले लेवनानमाथि ३-१ गोलको जित निकालेको थियो ।
यस्तै, लगातार दोश्रो हार व्यहोरेको किर्गिस्तान विना अंक तालिकाको पुछारमा रहेको छ । यसअघि किर्गिस्तान नेपालसँग १–० ले पराजित भएको थियो ।
दिनको दोस्रो खेलमा साँझ ६ बजे घरेलु टोली नेपालले लेबनानको सामना गर्नेछ । लेबनानलाई हराए म्यानमार र नेपाल एक खेलअगावै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई १-० ले हराएको थियो ।
आजको खेलपछि फागुन ११ मा लिग चरणको अन्तिम खेल हुनेछन् । लिग चरणको अन्तिम खेलमा किर्गिस्तान र लेवनान तथा नेपाल र म्यानमार भिड्नेछन् ।
लिग चरणको शीर्ष दुई टोलीबीच फागुन १४ मा उपाधि भिडन्त हुनेछ ।
