नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा यतिबेला क्लब फुटबलका लागि ग्रीसमा छिन् । उनलाई ग्रीक महिला ‘ए’ लिग क्लबको अट्रोमिटौले सिजन २०२४–२५ को लागि अनुबन्ध गरेको थियो ।
यस्तोमा, उनको जीवनकथामा आधारित फिल्म ‘अन्जिला’को मर्मस्पर्शी र सशक्त टिजर मंगलबार युट्युवमा सार्वजनिक भएको छ । फिल्मको शीर्ष भूमिकामा एन्जिला स्वयमले अभिनय गरेकी छन् ।
दुर्गम जन्मथलोबाट व्यवसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानीमा उनले गरेको संघर्षसम्मको कथा फिल्ममा चित्रण छ । जसको महत्वपूर्ण दृश्य टिजरमा समेटिएको छ । घाँसदाउरा गर्दै र परिवारको असहमतिबीच उनले कसरी फुटबलको सपनालाई अघि बढाइन् भन्ने संक्षिप्त दृश्य टिजरमा छ ।
