आयोजक टोली भद्रपुर ब्लेजर्सले दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ ।

शुक्रबार भद्रपुरस्थित मेची रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली झापा ११ एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै ब्लेजर्सले उपाधि चुम्न सफल भयो ।

उपाधिसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता झापा ११ एफसीले ७ लाख रुपैयाँसहित ट्रफीमा चित्त बुझाएको छ ।

खचाखच भरिएको रंगशालामा भएको खेलमा भद्रपुरले खेलको ३०औं मिनेटमा अग्रता लिएको थियो । डिबक्स बाहिरबाट मिलन राईको सट पासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष चापागाईंले जाली चुमाउँदै टिमलाई १-० को अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफमा थप प्रतिस्पर्धात्मक बनेको खेलमा भद्रपुरका सत्यम शर्माले अतिरिक्त समयमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यस जितसँगै भद्रपुर ब्लेजर्सले उपाधि उचाल्दै घरेलु दर्शकमाझ गौरवान्वित उपलब्धि हासिल गरेको छ ।

फाइनल खेलको म्यान अफ म्याच भद्रपुरका विशाल दर्जी भए । उनले २१ हजार र ट्रफी पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भद्रपुरका कप्तान आशिष चापागाईं भए । उनले नगद एक लाख पाँच हजार र ट्रफी पाए ।

उदयीमान खेलाडी भद्रपुरका राजेश शाह, उत्कृष्ट गोलकिपर भद्रपुरका टेकेन्द्र थापा, उच्च गोलकर्ता भद्रपुरका सत्यम शर्मा र बेस्ट कोच भद्रपुरका सचिन्द्र धिमाल भए । उनीहरुले जनही २५ हजार पुरस्कार र ट्रफी पाए ।

फाइनल खेलमा टिकट लिएका भाग्यशाली दर्शकहरूमा भोजपुरका दर्शक एन्जल चर्मकारले टिभिएस राइडर मोटरसाइकल पाए । सुनको सिक्री भद्रपुरका विक्रम बराल, ५० हजार नगद भद्रपुरका राजेशकुमार गुप्ताले पाए ।

विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली लगायत समितिका सदस्य, पुरस्कार दाता चण्डीराज ढकाल, हेमराज ढकाल, टिकाराज ढकाल, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *