इटहरी । केराबारी फुटबल क्लब, मोरङले दोस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कप कोशी प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
इटहरी-५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा बिहिबार भएको फाइनल खेलमा लोहरुङ्ग फुटबल क्लब, संखुवासभालाई १–० गोल अन्तरले पराजित गर्दै केराबारीले उपाधि जितेको हो ।
केराबारीलाई च्याम्पियन बनाउन एलेक्सले निर्णायक गोल गरे । उनले खेलको १५औं मिनेटमा गोल गरेका थिए ।
प्रतोयोगिताको विजेता केराबारीले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्यो भने उपविजेता लोहरुङ्गले १ लाख ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
फाइनल खेलको म्यान अफ दि म्याच पनि केराबारीका निर्णायक गोलकर्ता एलेक्स बने । उनले नगद ५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी केराबारीका प्रबेश बस्नेत घोषित भए । उनले नगद १५ हजार र ट्रफी प्राप्त पारे ।
त्यस्तैगरी उत्कृष्ट गोलरक्षक केराबारीका रोशन कार्की चुनिए । उत्कृष्ट डिफेन्डर पनि केराबारीका सुजन चौधरी बन्दा उत्कृष्ट मिडफिल्डर लोहरुङ्गका हेमन लिम्बु चुनिए । उत्कृष्ट फरवार्ड पनि लोहरुङ्ग कै जिवन लोहरुङ्ग बने । त्यसैगरी उत्कृष्ट प्रशिक्षक केराबारीका प्रितम लिम्बु घोषित भए । उत्कृष्ट बनेका सबैले जनही समान नगद १० हजार र ट्रफी हात पारे ।
प्रतियोगिताको उदियमान खेलाडी आयोजक द योङ ब्रदर्शका सलोन जिमी भए । उनले नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार भने केराबारीका नितेश लिम्बुले हात पारे । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी उद्योग, वाणिज्य तथा कृषि मन्त्री खगेन हाङ्गनाम लगायतले पुरस्कृत गरे ।
द योङ ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा गत माघ १७ गतेदेखि शुरु भएको प्रतियोगितामा कोशी प्रदेशका कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।
