धनगढी । मधेश प्रदेशको नव जागृति यसथ क्लबमाथि एकपक्षीय निकाल्दै सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसन जय पृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कैलालीको धनगढीस्थित गौरीगंगा ११ स्पोर्ट्स क्लबको मैदानमा बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिम ४-० ले विजयी भएको हो ।
योसँगै सुदूरपश्चिमले अब फाइनल प्रवेश गर्न कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । कर्णालीले बुधबार आयोजकलाई ३-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ।
सुदूरपश्चिमलाई जित दिलाउन श्याम बियाडीले दुई गोल गरे । कमल देउवा र हरिष भट्टले एक/एक गोल गरे ।
खेलको सुरु भएको आठौं मिनेटमै कमलले सुदूरपश्चिमलाई सुरुआती अग्रता दिलाएका थिए । १९औं मिनेटमा हरिषले टोलीको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा दुई गोल गरेको सुदूरपश्चिमले अर्को हाफमा पनि समान गोल थप्यो । दोस्रो हाफमा भने श्याम हाबी भयो।श्यामले ४८ र ६०औं मिनेटमा गोल गरेका हुन् ।
