कटारी । सिरहाको सलहेश युवा क्लब उदयपुरको कटारीमा जारी पाँचौं कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहिवार कटारी टाईगर मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा सलहेशले विरगञ्ज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
सहलेशका लागि अफ्रिकी खेलाडी अबय यामीले दुई गोल गरे भने अर्का विदेशी खेलाडी आर्मन बेदरले एक गोल गरे ।
खेलको ३६औं मिनेटमा यामीले पहिलो गोल गर्दै सहलेशलाई अग्रता दिलाएका थिए । एक मिनेटपछि नै यामीले ब्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे । ४०औं मिनेटमा बेदरले थप गोल गर्दै सहलेशको जित सुनिश्चित गरे ।

खेलको म्यान अफ द म्याच दुई गोल गर्ने सलहेशका अबय यामी घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पाए ।
अब सलहेशले उपाधिका लागि काठमाडौंको च्याम्पियन ब्वाइजसँँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।
कटारी नगरपालिकाको आर्थिक सहयोगमा कटारी नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद तीन लाख हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछ ।
