अमेरिकी क्लब इन्टर मियामीका दुई मुख्य खेलाडी लियोनल मेस्सी र लुइस स्वारेजलाई अनुशासनको कारबाही भएको छ । त्यहाँको घरेलु लिग एमएलएसले मियामीका कप्तानलाई अनुशासनको कारबाही गर्दै आर्थिक जरिमाना तिराउने निर्णय गरेको हो ।
पछिल्लो खेलमा मियामीले न्यूयोर्क सिटीको सामना गर्दा सो टिमका सहायक प्रशिक्षक मेहदी बालोचीको गर्धन समातेको आरोपमा दुई खेलाडीलाई आर्थिक जरिमाना तिराइएको हो । तर जरिमाना कति तिराइयो भनेर चाहिँ खुलाइएको छैन ।
घरेलु लिगमा शनिबार भएको खेल २-२ को बराबरीमा सकिएको थियो । खेल सकिएपछि यो घटना भएको रिपोर्टमा बताइएको छ । खेलको अन्त्यमा रेफ्री एलेक्सिस सिल्भासँगको मौखिक विवाद क्रममा मेस्सीले पहेंलो कार्डको सामना गरेका थिए ।
खेलपछि मैदानबाट बाहिरिँदै गर्दा मेस्सीले विपक्षी टिम न्यूयोर्क सिटीका प्रशिक्षकलाई गाली गरेका थिए । सो विवादमा मियामीका मुख्य र सहायक प्रशिक्षकले हस्तक्षेप गरेपछि मेस्सी विपक्षी प्रशिक्षकसँग थप रिसाएका थिए ।सो क्रममा मेस्सीले आक्रोश नियन्त्रण गर्न नसक्दा विपक्षी प्रशिक्षकको गर्धन अँठ्याएका थिए ।
मेस्सीले यस्तो व्यवहार गरेपछि सिटीका प्रशिक्षक बलोची केहीबेर निकै भावुक र स्तब्ध बनेका थिए । सोही घटनामा मेस्सीमाथि कारबाही भएको हो । यता, अर्का खेलाडी लुइस स्वारेज पनि कारबाहीमा परेका छन् । स्वारेजले विपक्षी प्रशिक्षकको अनुहारमा धक्का दिएको र घाँटी समातेको बताइएको छ ।
स्वारेजले त सोही खेल दौरानको विवादलाई लिएर खेल सकिनासाथ सिटीका डिफेन्डर बिर्क रिसाको समेत गर्धन समातेर अपशब्द बोलेका थिए । मेस्सी र स्वारेज एकै घटनामा सामेल भएपछि दुवैलाई समान अंकको आर्थिक जरिमाना तिराइएको हो । तर दुवैलाई खेलको प्रतिबन्ध भने लागेको छैन । खेल सिद्धिसकेको घटना भएकाले खेलाडीमाथि प्रतिबन्ध नलागेको हो । यदि खेल अवधिभित्रै यस्तो घटना भएको थियो भने मेस्सी र स्वारेजमाथि कम्तीमा ३ खेलसम्मको प्रतिबन्ध लाग्न सक्थ्यो ।
