वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा वडा नम्बर ७ र वडा नम्बर ९ ले बराबरी खेल्दा वडा नम्बर ३ ले जित हात पारेको छ ।
बिहीबार भएको पहिलो खेलमा वडा नम्बर ७ र वडा नम्बर ९ ले १-१ गोलको बराबरी खेलेका हुन् । बराबरीपछि वडा नम्बर ९ ले २ खेलमा ४ अंक जोडेको छ । समान २ खेल खेलेको वडा नम्बर ७ को मात्र १ अंक भएको छ ।
खेलको म्यान अफ दि म्याच उत्कृष्ट वडा नम्बर ७ का सोहन बस्नेत भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरे ।
त्यस्तै, बिहीबार भएको दोस्रो खेलमा सविक विजेता वडा नम्बर ३ ले वडा नम्बर ८ लाई ३-० गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
पहिलो जितपछि वडा नम्बर ३ ले २ खेलमा ३ अंंक जोडेको छ । पराजित वडा नम्बर ८ को समान २ खेलबाट ३ अंंक नै छ ।
खेलमा २ गोल गरेका वडा नम्बर ३ का अनिसहाङ लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफी प्राप्त गरे ।
लिग फर्म्याटमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेल वडा नम्बर १ र वडा नम्बर १० तथा दोस्रो खेल वडा नम्बर ५ र वडा नम्बर ६ बीच हुनेछ ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ देबिघाटस्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।
