काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजको चौथो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध जितका लागि १४१ रनको लक्ष्य पाएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको हो ।
नेदरल्याण्ड्सका लागि कप्तान डे लीडेले ३८ बलमा चार चौका र एक छक्कासहित ४१ रनको योगदान गरिन् । त्यस्तै हेथर सेगर्सले २६ रन बनाइन् । यसैगरी फेबे मोल्केनबोएर र रोविन रिकेले समान २१ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि सिता राना मगरले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिइन् । उनले करियरको दोस्रो पाँच-विकेट फिगरको बलिङ गरेकी हुन् । यो उनको बेस्ट बलिङ समेत हो ।
मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले १-१ विकेट लिए ।
यस सिरिजमा दुवै टोलीको यो तेस्रो खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेपाल सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्स र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।
