दोस्रो भद्रपुर झापा गोल्डकपमा नेपाल, भारत, भुटान र बंगलादेशका १० टोली सहभागी हुने भएका छन् । यही फागुन ७ देखि फागुन १६ गते मेची रंगशालामा प्रतियोगिताका खेल हुँदैछन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले २० हजार दर्शक अटाउने गरी स्थायी र बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको बताए ।

दर्शकले क्वाटरफाइनलसम्मका खेल हेर्न दुई सय, सेमिफाइनलमा तीन सय र फाइनलका लागि बाँसको अस्थायी प्याराफिटमा तीन सय तथा पक्की प्याराफिटका लागि पाँच सय टिकट दर कायम गरिएको उनले जानकारी दिए ।

प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्स, ए डिभिजन क्लब चर्च ब्याइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपीएप एफसी र झापा ११ गरी सात नेपाली टोली सहभागी हुँदैछन् । यसैगरी, भारतको दार्जिलिङ पुलिस एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र बंगलादेशको काउर्न बजार प्रगति संघ गरी तीन विदेशी टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेता टोलीले नगद १३ लाख तथा उपविजेताले नगद ७ लाख प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख पाँच हजार, उत्कृष्ट गोल किपर, उच्च गोलकर्ता, उदियमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार प्राप्त गर्ने छन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २१ हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न एक करोड ७८ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *