विराटनगर । नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा दुई वटा भारतीयसहित १० टोली सहभागी हुने पक्का भएको छ ।

विराटनगरमा सोमबार पत्रकार सम्मेलनमार्फत भारतका दुई र नेपालका विभागीयसहित आठ वटा गरी प्रतियोगितामा १० टोली सहभागिता रहने जानकारी दिइयो ।

आठौं संस्करण आफैं गरेको विराट गोल्डकप फुटबल ट्रष्टले नवौं संस्करण आयोजनाको जिम्मा उद्योगी नवीन रिजाललाई दिएको छ ।

गोल्डकप संयोजक रिजालले प्रतियोगितामा भाग लिने टोलीको टुंगो लागिसकेको बताए । फागुन १९ गतेदेखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगितामा भारतबाट साउथर्न समिति फुटबल क्लब कोलकाता र सुदेभा दिल्ली फुटबल क्लब आउनेछन् ।

गोल्डकपमा नेपालका विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ फुटबल क्लबसहित थ्रीस्टार फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब, चर्च ब्वाइज फुटबल क्लब तथा रिजालको मोरङ एफसीले सहभागिता जनाउने छन् ।

विराटनगरको सहिद रंगशालामा हुने गोल्डकप आयोजनाका लागि मैदान मर्मत र सरसफाइको काम भइरहेको जानकारी दिँदै रिजालले प्रायोजकहरूको लगभग टुंगो लागिसकेको बताए ।

रंगशाला बाहिर र भित्र ब्यानर तथा होडिङ बोर्ड राख्ने तथा फ्रल्ड लाइट चेकजाँचको काम भइरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *