विराटनगर । फुटबल क्षेत्रमा लागेका व्यक्तिहरूले ‘फुटबलर्स मिसन टुगेदर’को कोसी प्रदेश समिति घोषणा गरिएको छ ।
शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पुनमजंग थापाको अध्यक्षतामा प्रदेश समिति गठन भएको हो ।
उपाध्यक्षमा इनु रसाइली र संगीता राउत, पारस चौधरी रहेका छन् भने महासचिवमा मधुसूदन खनाल र कुमार महर्जन कोषाध्यक्षमा चयन भएका छन् ।
त्यस्तै दीपेन्द्र ढकाल, गणेशराज भण्डारी, मंगेश बस्नेत, दर्शन राजलव श्रेष्ठ, सुरेन्द्र तामाङलाई सदस्यमा चयन गरिएको छ ।
कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव परशुराम बस्नेतले कोशी खेलकुद विकास बोर्डले खेलाडी उत्पादनमा केन्द्रित भई काम गरिरहेको बताए ।
फुटबलर्स मिसन टुगेदरका संस्थापक अध्यक्ष अशोक बज्राचार्यले फुटबल क्षेत्रको समग्र विकासका लागि मिसन टुगेदरले अभियान चलाउने बताए ।
कोशी प्रदेश नेपाल फुटबल संघका अध्यक्ष एवं एन्फाको मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले विश्व बजारमा क्रिकेटले खेलेको भूमिका जतिकै फुटबलले पनि महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।
क्रिकेटले लिएको उचाइ जस्तै नेपाली फुटबलले पनि विश्वकपमा पुऱ्याउने लक्षका साथ फुटवल संघ एक भएर लाग्नु पर्ने बताए ।
एन्फाका पूर्वसचिव वसन्त अर्यालले खेलकुदमा खेलाडीको अवस्था के हो भन्नेमा केन्द्रित हुनु पर्ने अवस्था रहेको बताए । खेलकुद क्षेत्रमा फुटबल क्षेत्रको विकास र खेलाडीको संरक्षण तथा खेलाडी उत्पादनमा केन्द्रित हुन उनले आग्रह गरे ।
