धनगढी । ई-प्लानेट नेशनल हाई स्कुल टी-१० क्रिकेट च्याम्पियनसिप २०८१ को सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टल एकेडेमीले जितेको छ ।
धनगढी स्थित मोहना खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा वेस्टर्न क्रिस्टलले विद्या भुषण पब्लिक स्कुललाई ३३ रनले पराजित गर्दै नेशनल हाइस्कुल च्याम्पियनसिपको लागि छनोट भएको हो ।
सुदूरपश्चिम छनोटबाट विजेताको रुपमा वेस्टर्न क्रिस्टलले अब राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
राष्ट्रिय फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ, जहाँ ७ प्रदेशका विजेता टिम र आयोजक टिम गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
फाइनल खेलमा १०४ रनको लक्ष्य पछ्याएको विद्या भुषणले निर्धारित १० ओभर ब्याटिङ गरेता पनि ४ विकेट क्षेतीमा ७० रन मात्र बनाउन सक्यो ।
विद्या भुषणको लागि नबिन शाहले सर्वाधिक २० रन बनाए जुन क्रममा १७ बलमा ३ चौका प्रहार गरे । प्रशान्त मदाईले १६ तथा रोशन बिक र बिबेक दुवालले समान ११ रन बनाए ।
वेस्टर्न क्रिस्टलका बलर रोशन रावल, युनिक मल्ल र बिक्की सिंहले १/१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको वेस्टर्न क्रिस्टल एकेडेमीले निर्धारित १० ओभरमा ४ विकेट क्षेतीमा १०३ रन बनाएको थियो ।
वेस्टर्न क्रिस्टलको लागि ओपनर आरेश बोहराले सर्वाधिक ३७ रन बनाए जुन क्रममा उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै चौंथो नम्बरमा ब्याटिंग गरेका दिपक कुडमालले मात्र १३ बलमा २ चौका र ३ छक्का मद्दतले ३३ रन बनाए । शंकर बोहराले ११ रन बनाए ।
बिद्या भुषणका रोशन विकले २ तथा बिबेक दुवाल र नबिन शाहले १/१ विकेट लिए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी शंकर बोहरा घोषित भए । बोहराले सेमीफाइनलमा ब्राइटवे पब्लिक स्कुल विरुद्ध शतक बनाएका थिए ।
