काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले थाइल्याण्डलाई १०२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनायो ।
नेपालले थाइल्याण्डविरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक योगफल हो भने १०० रनको योगफल कटाएको पनि यो पहिलोपटक हो ।
नेपालकालागि कविता कुवँर र विन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु वर्माले १५ रन बनाइन् ।
बविता जोशीले ८ तथा रुबिना क्षेत्रीले ४ रन बनाउँदा सिता राना मगर र ममता चौधरीले समान २ रन जोडिन् । मनिषा उपाध्यायले एक रन बनाउँदा सम्झना खड्काले खातानै खोल्न सकिनन् ।
थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएकी थिइन् । फनिता मया र नताया बूचाथामले समान २ विकेट लिए । चनिदा सुथिराङले १ विकेट लिइन् ।
दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । नेपाल पहिलो जितको खोजीमा रहँदा थाइल्याण्ड दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससंग २० रनले पराजित भएको थियो । सिरिजमा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् ।
