च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् ।
पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २:४५ बजे खेल सुरु हुनेछ।
पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ। यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ ।
अफगानिस्तान पहिलो खेलमा दक्षिण अफ्रिकासँग फराकिलो अन्तरले पराजित भएको थियो । इङ्ग्ल्याण्ड अस्ट्रेलियासँग पराजित भएको थियो ।
मंगलवारको अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल रद्द भएपछि यी दुई टोलीबीचको खेल नकआउट भिडन्त भएको हो ।
पछिल्ला ओडिआई खेलहरुमा आयरल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश र जिम्बाब्वेलाई पराजित गर्दै अफगानिस्तान च्याम्पियन्स ट्रफीमा खेल्न गएको हो ।
जोस बटलरको टोलीले पछिल्लो समय ५० ओभरको क्रिकेटमा रन बनाउँन निरन्तरताका लागि संघर्ष गरिरहेका छन् ।
च्याम्पियन्स ट्रफीको पूर्वसन्ध्यामा इङ्ग्ल्याण्डले भारतसँगको ओडिआई सिरिजमा ३-० को हार बेहोरेको थियो ।
इङ्ग्ल्याण्डले ओडिआईमा लगातार ५ खेलमा हार बेहोरेको छ । सन् २००९ मा अस्ट्रेलियाविरुद्धको ओडिआई सिरिजमा इङ्ग्ल्याण्डले लगातार ६ खेलमा हार बेहोरेको थियो ।
अफगानिस्तानको टोली
हशमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जादरान, रहमानुल्लाह गुरबाज, सेदीकुल्लाह अटल, रहमत शाह, इकराम अलीखिल, गुलबदीन नैब, अजमतुल्लाह उमरजई, मोहम्मद नबी, राशिद खान, नूर अहमद, फजलहाक फारूकी, फरीद मलिक, नवीद जादरान।
इङल्याण्डको टोली
जोस बटलर (कप्तान), जोफ्रा आर्चर, गस एटकिन्सन, टम ब्यान्टन, ह्यारी ब्रुक, रेहान अहमद, बेन डकेट, जेमी ओभरटन, जेमी स्मिथ, लियाम लिभिङस्टोन, आदिल राशिद, जो रुट, साकिब महमुद, फिल साल्ट र मार्क वुड ।
