युईएफए च्याम्पियन्स लिग अन्तर्गत प्लेअफको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले इङ्लिस क्लब म्यानचेस्टर सिटीमाथि रोमाञ्चक जित निकालेको छ ।
मंगलवार राति भएको खेलमा रियलले सिटीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । सिटिको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिङ्घमले समान १ गोल गरे । सिटीका लागि दुवै एर्लिङ हालान्डले गरे ।
खेलमा अग्रता पनि घरेलु टोली सिटीले लिएको थियो । खेलको १९औं मिनेटमा हालान्डले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ६०औं मिनेटमा एम्बाप्पेले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
८०औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दा सिटीले २–१ को अग्रता बनायो । ड्यानी सेबायोसले फिल फोडेनलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा हालान्डले गोल गर्दै सिटीलाई खेलमा अग्रता दिलाएका थिए ।
८६औं मिनेटमा डियाजको गोलमा मड्रिडका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो । ८६औं मिनेटमा सब्टिच्युट खेलाडी डियाजले गोल गर्दै रियललाई २-२ को बराबरीमा ल्याए ।
खेलको निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएको थियो । तर, इन्जुरी समयको दोस्रो मिनेटमा भिनिसियस जुनियरको पासमा बेलिङ्घमले गोल गरेपछि खेलमा रियलले दुई पटक पछि परेको अवस्था उल्टाउँदै ३–२ को जित निकाल्यो ।
सिटी र रियलबीचको दोस्रो लेग २० फेब्रुअरीमा छ । रियल र सिटी दुवैले च्याम्पियन्स लिगको नयाँ लिग-चरण प्रारुपमा शीर्ष आठ भित्र स्थान बनाउन नसक्दा स्वतः अन्तिम १६ मा पुग्न असफल रहेका थिए ।
रियल ११औं स्थानमा रह्यो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको थियो । दुई लेगमा जित दर्ज गर्ने टोली अन्तिम १६ मा पुग्नेछ । रियल र सिटीबीचको विजेताले एट्लेटिको मड्रिड वा बायर लेभरकुसेनमध्ये एकसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
इंग्लिस प्रिमियर लिगमा पनि सिटीले निराशाजनक प्रदर्शन गरिरहेको छ । लिग तालिकामा पाँचौं स्थानमा रहेको सिटी शीर्षस्थानको लिभरपुलभन्दा १५ अंकले पछि परेको छ ।
