युईएफए च्याम्पियन्स लिग अन्तर्गत प्लेअफको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले ब्रेस्टमाथि सहज जित निकालेको छ ।
मंगलवार राति भएको खेलमा पिएसजीले फ्रान्सेली प्रतिद्वन्दी ब्रेस्टमाथि ३–० को सहज जित निकालेको हो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन ओस्मान डेम्बेलेले दुई गोल गर्दा भिटिन्हाले एक गोल गरे ।
खेलको २१औं मिनेटमा भिटिन्हाको पेन्लाटीमार्फत पिएसजीले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको अन्त्यतिर डेम्बेलेले पिएसजीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६५औं मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ३–० को सहज जित दिलाए ।
यी दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी २० पिएसजीको मैदानमा हुनेछ ।
