युईएफए च्याम्पियन्स लिग फुटबलमा आजदेखि नकआउट प्लेअफ् चरणका खेल सुरु हुँदैछन् ।

आज विभिन्न ४ खेल हुँदा एक खेलमा सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धा इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिडबीच हुनेछ ।

यो खेललाई प्लेअफ् चरण मात्रै नभई यस सिजनकै एक सबैभन्दा ठूलो खेल मान्न सकिन्छ । उपाधि दोबदार दुई शीर्ष टोली सिटी र रियल मध्ये एकको यात्रा प्लेअफ्मै सकिनेवाला छ ।

यी दुई टिम गत सिजन च्याम्पियन्स लिगकै क्वार्टरफाइनलमा भिडेका थिए । सो खेलमा रियलले सिटीलाई पेनाल्टीमा ४-३ ले हराएको थियो । यी दुई टिमको लगातार दोस्रो पटक च्याम्पियन्स लिगमा भेट हुन लागेको हो । गत सिजन होम एक अवे लेगमा ४-४ को बराबरी भएको थियो ।

यस सिजन प्लेअफ् चरणमा भिड्दा सिटी गत सिजनको बदला रियल मड्रिडसँग लिने योजनामा छ भने रियल यस सिजन पनि सिटीलाई निराश पार्न चाहन्छ । यो सिजन रियल समग्रमा राम्रो लयमा खेलिरहेको छ भने म्यानचेस्टर सिटी लगातार खराब सिजन बिताइरहेको छ । घरेलु लिगमै पनि सिटी उपाधि होडबाट टाढा छ भने च्याम्पियन्स लिगको लिग चरणबाट आउट हुनका लागि अन्तिम खेलसम्म संघर्ष गर्नु परेको थियो ।

आजको ज्यादै महत्त्वपूर्ण र कठिन खेलअघि रियलको टिममा चोटले तनाव थपिएको छ । सिटीको घरमा पाहुना टोली बनेर जाँदा रियलको टिममा ‘पहिलो रोजाइ’ को डिफेन्डरको सेट नै नहुने पक्का भएको छ । लुकास भासक्वेजले चोट बोकेको पुष्टि भएसँगै अब सिटीविरुद्ध उत्रिंदा रियलसँग अधिकांश डिफेन्डर दोस्रो रोजाइका मात्रै हुने भएका छन् ।

दुई दिनअघि ला लिगामा एट्लेटिको मड्रिडविरुद्ध खेल्ने क्रममा डिफेन्डर भासक्वेजले चोट बोकेका थिए । उनी तीन सातासम्म मैदान बाहिर हुने पक्का भएको छ । उनी टोली बाहिर भएसँगै यतिबेला रियलको टिममा पहिलो रोजाइका सबै डिफेन्डर बाहिर भएका छन् ।

भासक्वेज घाइते हुनुअघि नै डेभिड अलबा, ड्यानी कार्भाहाल, इडर मिलिटाओ र एन्टोनियो रुडिगर ४ जना नै घाइते अवस्थामा थिए । अब भासक्वेज पनि घाइते खेलाडीको सूचीमा थपिएपछि प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई तनाव थपिएको छ ।

टिममा पहिलो रोजाइको डिफेन्स सेटका खेलाडीहरू अलबा, कार्भाहाल, मिलिटाओ, रुडिगर र भासक्वेज चोटिल रहेको अवस्थामा म्यानचेस्टर सिटीविरुद्ध उत्रिंदा रियलको डिफेन्स जेसस भालेजो, फर्रान गार्सिया, फेर्लान मेन्डी, राउल एसेन्सियो सहित थप २ जना नयाँ खेलाडीको भरमा हुनेछ । सिटीले आज रियलको यही समस्या र कमजोरीको फाइदा पहिलो लेगमा उठाउन सक्दो प्रयास गर्नेछ ।

आज हुने खेलहरूको तालिका तल हेरौं:
ब्रेस्ट भर्सेस पिएसजी राति ११ः३० बजेबाट
स्पोर्टिङ सीपी भर्सेस बोरुसिया डर्टमुन्ड – राति १ः४५ बजे
युभेन्टस भर्सेस पिएसभी – राति १ः४५ बजे
म्यानचेस्टर सिटी भर्सेस रियल मड्रिड – राति १ः४५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *