धनगढी । सुदुरपश्चिम प्रदेश कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेश भिड्ने भएका छन् ।

गौरीगंगा-११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्‌को तत्वाधानमा जारी प्रतियोगिताको उपाधिका लागि दुबै टोली भिड्ने भएका हुन् ।

दोस्रो सेमिफाइनलमा लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लबले बागमति प्रदेशको लक्की स्टार क्लबलाई पराजित गरेपछि उपाधिका लागि सुदुरपश्चिम प्रदेशको टीमसँग प्रतिस्पर्धा गर्ने भएको हो । सुदुरपश्चिम प्रदेश यसअघिको पहिलो सेमिफाईनलमा कर्णाली प्रदेशलाई १–० ले हराउँदै फाईनल पुगेको छ ।

दोस्रो सेमिफाईनलमा लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लब बागमति प्रदेशको लक्की स्टार क्लबलाई १-० ले हराउँदै फाईनल पुगेको हो ।

लुम्बीनीको जितमा विनोद केवतले निर्णायक गोल गरे । उनले खेलको ७५औं मिनेटमा गोल गरेका हुन् । आफ्नो टोलीलाई फाईनल पुराउन उत्कृष्ट खेल प्रदर्शन गरेका अभिनाश थापा मगर प्लेयर अफ द म्याच भए । उनले नगद ५ हजार सहित ट्रफी पाए ।

सुदुरपश्चिम र लुम्बीनी प्रदेशबीचको फाईनल खेल फागुन १४ गते महाशिवरात्रीका दिन हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख पचास हजार नगद सहित ट्रफी मेडल पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *