यूईएफए च्याम्पियन्स लिगमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर सिटी प्ले अफबाटै बाहिरिएको छ ।

गएराति भएको नकआउट चरणअन्तर्गत प्लेअफको दोस्रो लेगमा रियल मड्रिडसँग ३-१ ले हारेसँगै सिटी समग्रमा ६-३ को पराजय बेहोर्दै बाहिरिएको हो । पहिलो लेगमा सिटी ३-२ ले हारेको थियो ।

घरेलु मैदान स्यान्टियागो बेर्नाबाउमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । सिटिका लागि निको गोन्जालेजले सान्त्वना गोल फर्काए ।

एमबाप्पेले खेलको चौथो मिनेटमै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई अग्रता दिलाएका एमबाप्पेले ६१औं मिनेटमा ह्याट्रिक पूरा गरे । सिटीका लागि गोन्जालेजले खेलको इन्ज्युरी समयमा सान्त्वना गोल फर्काए ।

अब, रियलले अन्तिम १६ मा स्पेनकै एट्लेटिको मड्रिड वा जर्मनको बायर्न लेभरकुसेनविरुद्ध खेल्नेछ ।

गएराति भएको अर्को खेलमा युभेन्टसलाई ३-१ ले हराउँदै पीएसभीले समग्रमा ४-३ को नतिजा निकाल्दै अन्तिम १६ मा पुगेको छ । पीएसजी भने ब्रेस्टविरुद्ध ७-० को फराकिलो जित दर्ता गर्दा समग्रमा १०-० को जित निकाल्दै अन्तिम १६ मा पुगेको हो ।

अर्को खेलमा बोरुसिया डर्टमण्ड स्पोर्टिङ सिपीसँग गोलरहित बराबरी खेल्दा अन्तिम १६ मा पुग्न पहिलो लेगको नतिजा नै पर्याप्त बन्यो । पहिलो लेगमा डर्टमण्डले ३-० को नतिजा हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *