अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज (बिहीबार) घरेलु टोली नेपालले आफ्नो दोस्रो खेल लेबनानसँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ । पहिलो खेलमा किर्गिस्तानलाई १-० ले हराएको नेपाली टोली आजको खेलमा पनि सोही नतिजा दोहोऱ्याउने योजनामा छ ।

नेपाली टोली लगातार दोस्रो जित निकाल्दै फाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

उता पहिलो खेलमा म्यानमारसँग ३-१ ले पराजित लेबनान पहिलो जितको खोजीमा हुनेछ । लेबनान नेपाललाई हराउँदै फाइनल खेल्ने सम्भावना कायम राख्न चाहन्छ ।

प्रतियोगिताको पहिलो खेल जितेको म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा छन् । अंक तालिकामा समान ३ अंक भए पनि गोल अन्तरमा नेपाल पछि परेको हो । अंकविहीन किर्गिस्तान तेस्रो र लेबनान अंक तालिकाको पुछारमा छन् ।

आजै हुने पहिलो खेलमा किर्गिस्तान र म्यानमार भिड्दै छन् । सो खेल दिउँसो २ बजे सुरु हुनेछ । म्यानमार लगातार दोस्रो जितको खोजीमा छ भने किर्गिस्तान पहिलो जित चाख्न चाहन्छ ।

हेड टु हेड

महिला फुटबलमा नेपाल र लेबनान एक वर्षको अन्तरालमा दोस्रोपटक भिड्न लागेका हुन् । यी दुई टोलीबीच गत वर्षको फागुनमा साउदीमा भएको वाफ महिला च्याम्पियनसिपमा भेट भएको थियो ।

वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ ले हराएको थियो । लेबनान आजको खेलमा त्यो हारको बदला लिंदै नेपाललाई घरेलु मैदानमै स्तब्ध पार्न चाहन्छ । तर घरेलु मैदान र दर्शकको साथ पाएको महिला टोली उच्च मनोबलमा मैदान उत्रनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *