नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि साविक विजेता ललितपुर सिटी एफसीले सनिश श्रेष्ठ र आदित्य शाक्यलाई रिटेन गरेको छ ।

आगामी फागुन १० गते हुने अक्सनअघि ललितपुरले डिफेन्डर सनिस श्रेष्ठ र मिडफिल्डर आदित्य शाक्यलाई टोलीमा नै राख्ने निर्णय गरेको हो । 

सनिस ए श्रेणी र आदित्य बी श्रेणीका खेलाडी हुन् । यसअघि नेपाल सुपर लिगले अक्सनअघि दुई खेलाडी रिटेन गर्न सक्ने नियम ल्याएको थियो ।

ललितपुरले नेपाली राष्ट्रिय टोलीका डिफेन्डर सनिसलाई रिटेन गर्दा टोलीको रक्षापंक्ति बलियो भएको विश्वास गरेको छ ।

त्यस्तै, युवा मिडफिल्डर आदित्य शाक्य गत सिजन क्लबको लागि महत्त्वपूर्ण खेलाडी साबित भएका थिए । आदित्यले गत सिजनको फाइनल खेलमा म्यान अफ द म्याच बनेका थिए भने ललितपुरले उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

ललितपुर सिटी एफसीका प्रबन्ध निर्देशक आलोक जंग जोशीले भने, “सनिश र आदित्य हाम्रो टोलीका महत्वपूर्ण सदस्य हुन्, र हामी उनीहरूलाई फेरि पनि ललितपुर सिटी एफसीमा देख्न पाउँदा खुसी छौं । उनीहरूको योगदान गत सिजन अमूल्य रह्यो, र यसपटक झन् उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ ।”

तेस्रो संस्करणको एनएसएल चैत १६ गते सुरु हुनेछ । जसमा ७ फ्रेन्चाईज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *