इटहरी । १५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेला शनिवार (आज) हुँदैछ ।

दिउँसो २:३० बाट सुरु हुने खेलमा उपाधिका लागि सगरमाथा युथ क्लब मोरङ र मच्छिन्द्र फुटबल क्लब काठमाडौँ प्रतिस्पर्धा गर्दै छन् ।

सगरमाथा युथ क्लबले क्वाटर फाइनलमा न्यूरोड टिम (एनआरटि) र सेमिफाइनलमा धरान फुटबल क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै मच्छिन्द्रले क्वाटर फाइनलमा झापा फुटबल क्लब र सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

शुक्रवार भएको प्रि-म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा टिम कप्तानहरूले खेल आफूले जित्ने दाबी गरेका छन् । दुई पटकको उपाधि विजेता सगरमाथा युथ क्लब आफ्नो जितलाई ह्याट्रिक बनाउने योजनामा रहँदा मच्छिन्द्र क्लब पनि पहिलो पटक फाइनल खेल खेल्दै उपाधि जितेर इतिहास बनाउने रणनीतिमा छ ।

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ । प्रतियोगितामा विधागत उत्कृष्टतामा पनि खेलाडीहरू पुरस्कृत हुने छन् ।

आयोजकका अनुसार विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।

यसै गरी सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार प्राप्त गर्दा राइजिङ प्लेयरले एक थान एलइडी टिभी प्राप्त गर्ने आयोजकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *