इटहरी । धरान फुटबल क्लब इटहरीमा जारी कन्ट्रोल १५औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
मंगलबार इटहरी रंगशालामा भएको चौथो क्वाटरफाइनल खेलमा धरानले चर्च ब्वाईज युनाइटेडलाई २-१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

धरानलाई जित दिलाउन दोर्जे तामाङ र बिबेक राईले गोल गरे । पराजित चर्च ब्वाइजका लागि भने अनन्त तामाङले एक मात्र गोल गरेका थिए ।
खेलको ४७औं मिनेटमा दोर्जेले गोल गर्दै धरानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५७औं मिनेटमा विवेकले टोलीको अग्रता दोब्बर बनाए । चर्च ब्वाइजका अनन्तले ८४औं मिनेटमा गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
खेलमा धरानका दोर्जे तामाङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेल भारतको युनाइटेड खर्साङ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबबीच हुनेछ ।
राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।
