पोखरा । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४औं आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ ।
पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइजलाई १-० गोलले पराजित गर्दै पुलिस उपाधि नजिको पुगेको हो । आहाराराको ११औं फाइनल खेल्न लागेको पुलिस क्लब २०७६ पछि फाइनलमा पुगेको हो ।
आहा राराको २ सय ५०औं खेलमा पुलिसलाई जित दिलाउन सञ्जिव लामाले निर्णायक गोल गरे । उनले खेलको ५८औं मिनेटमा गोल गरेका थिए ।
पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोली मध्ये एक हो । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६ पटक पोखरा उपाधि जितेको छ । पुलिस पछि मनाङ सर्वाधिक १० पटक फाइनल खेल्ने टोली हो ।
पुलिसले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा भोलि बिहीबार थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्नेछन् । फाइनल खेल फागुन ३ गते शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछ ।
