आहा रारा गोल्डकप उपाधि भिडन्त आज

२०८१, ३ फाल्गुन शनिबार ०८:२०

पोखरा । २४औं आहा रारा गोल्डकप फुटबलको उपाधि भिडन्त शनिबार हुँदैछ । दिउँसो साढे २ बजे हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्नेछन् ।

पुलिस आहा राराको सर्वाधिक सफल टोली हो । पुलिसले क्याराभान गोल्डकपदेखि हालसम्म छ पटक उपाधि चुमेको छ । पुलिस सातौँपटक च्याम्पियन बनेर इतिहास रच्ने दाउमा हुनेछ ।

पुलिसले विसं २०५८ मा क्याराभान गोल्डकप जितेको थियो । त्यसपछि विसं २०५९, २०६४, २०६५, २०६६ र विसं २०७४ मा आहा राराको उपाधि उचाल्यो ।

पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स पनि पहिलो सहभागितामा उपाधि जितेर घर फर्कन चाहन्छ । आफ्ना दुई खेल फराकिलो अन्तरले जितेकाले टोली फाइनलका लागि उत्साहित छ ।

नेपालमा पहिलोपटक फुटबल खेल्न आएको उज्वेकिस्तानी टोली शारीरिक र टेक्निकल दुवै हिसाबले उत्कृष्ट छ । यसअघिका दुई खेलमा उज्वेकिस्तानी टोलीले कुनै गोल नखाइकन सात गोल गरेको छ । पाहुना टोलीलाई रोक्नुपर्ने चुनौती पुलिससामु छ । पुलिसको टिमले समेत यसपटक अहिलेसम्म गोल खाएको छैन ।

साहरा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँका साथै शिल्ड, ट्रफी र प्रमाणपत्रसहित पुरस्कार पाउनेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगद सगै ट्रफी पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *