अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ ।
अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो ।
३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो ।
अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष अघि भारतमा भएको ओडिआई विश्व कपमा पनि अफगानिस्तान विजयी भएको थियो ।
इङ्ग्ल्याण्डका लागि जो रुटले सर्वाधिक १ सय २० रन जोडे । उनले १ सय ११ बलको सामना गर्दै ११ चौका र १ छक्का प्रहार गरे । ओडिआई करियरको १७औं शतक रुटले ९८ बलमा पूरा गरे ।
कप्तान जोन रुट र बेन डकेटले समान ३८ तथा ह्यारि ब्रुक २५ रनमा आउट भए । ओपनर फिल साल्ट १२ रनमा आउट हुँदा जेमी ओभरर्टन २८ बलमा ३२ रन जोड्दै आउट भए ।
अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईंले ९.५ ओभरमा ५८ रन खर्चिएर ५ विकेट लिए। मोहम्मद नाबीले २ तथा फैजल हक फारुकी, गुलबदीन नैब र राशिद खानले समान १ विकेट लिए ।
त्यसअघि पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गरेको थियो ।
अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक १ सय ७७ रन जोडेका थिए । उनले १ सय ४६ बलको सामना गर्दै १२ चौका र ६ छक्का प्रहार गरेका थिए ।
जाद्रानले अफगानिस्तानका लागि च्याम्पियन्स ट्रफीमा ऐतिहासिक पहिलो शतक प्रहार गरे। अफगानिस्तानको लागि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा नै यो सम्भव भएको हो ।
अफगानिस्तानका लागि जाद्रानले नै २ वर्ष अघि ओडिआई विश्व कपमा पनि पहिलो शतक प्रहार गरेका थिए। ओडिआई करियरको छैठौं शतक जाद्रानले १ सय ६ बलमा पूरा गरे ।
जाद्रानले १ सय ५० रन १ सय ३४ बलमा पूरा गरे । जाद्रानले च्याम्पियन्स ट्रफीमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान समेत बनाए । गत शनिवार अस्ट्रेलियाविरुद्धको खेलमा इङ्ग्ल्याण्डका बेन डकेटले बनाएको १ सय ६५ रनको कीर्तिमान उनले तोडेका हुन् ।
३७ रनमा ३ विकेट गुमाएर कठिन अवस्थामा पुगेको अफगानिस्तानका लागि जाद्रान र कप्तान हशमतुल्लाह शाहिदीले १ सय ३ रनको साझेदारी गरे। कप्तान शाहिदीले ६७ बलमा ३ चौकाको सहयोगमा ४० रन जोडे ।
पाँचौं विकेटका लागि जाद्रानले अज्मतुल्लाह उमरजाइसँग मिलेर ७२ रनको महत्वपुर्ण साझेदारी गरे । उमरजाइ ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोड्दै आउट भए ।
छैठौं विकेटका लागि मोहम्मद नाबीसँग जाद्रानले १ सय ११ रनको साझेदारी गरे । नाबीले २४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४० रन जोडे ।
इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले ३, लियम लिभिङ्स्टोनले २, जेमी ओभरर्टन र आदिल राशिदले समान १ विकेट लिए ।
पहिलो खेलमा पनि पराजित भएको इङ्ग्ल्याण्ड लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । इङ्ग्ल्याण्ड पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।
जितसँगै अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउँने सम्भावना कायमै राखेको छ । सेमिफाइनलमा स्थान बनाउँन अफगानिस्तानले शुक्रवार हुने खेलमा अस्ट्रेलियालाई पराजित गर्नु पर्ने हुन्छ ।
