धनगढीको फाप्लामा सम्पन्न तेस्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि भिमदत्त नगरपालिकाले जितेको छ ।
बुधवार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि कब्जा जमाएको हो ।
उपाधिसँगै भिमदत्तले नगद २ लाख जितेको छ । उपविजेता बनेको पुनर्वासले एक लाखमा चित्त बुझाएको छ ।
भिमदत्त नगरपालिकालाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अविजित अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्ध शतकीय पारी खेले । भिमदत्त नगरपालिकाका लागि मिलन बोहराले ३४ रनको योगदान दिए ।
पुनर्वास नगरपालिकाका लागि भोजराज भट्टले ३ विकेट लिए पनि टिमलाई जिताउन भने सकेनन् । कृष्ण कार्की र सागर भण्डारीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनायो । पुनर्वासका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका वसन्त सिंह कार्कीले आक्रामक ब्याटिङ गरे । ४० बलको सामना गरेका कार्कीले ७ चौका र ४ छक्काको मद्दतले अविजित ७२ रनको पारी खेले ।
त्यस्तै कप्तान विपिन रावल ३८ रन, सुवास ऐर १८ रन, नवयुग बस्नेत १४ रन बनाए भने आशिष लुहार १२ रनमा रिटार्यड आउट भए । भिमदत्त नगरपालिकाका लागि साजन बिटालु, किरण चन्द, सन्तोष भट्ट र समीर विष्टले समान १ विकेट लिए ।
