म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा बिजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा लेबनानलाई ३-१ गोलले पराजित गर्दै म्यानमारले शानदार शुरुवात गरेको हो ।
म्यानमारको जितका लागि विन थेइङ्गी टुन, श्वे यी तुन र सान थव थवलेले गोल गरिन् । लेबनानका लागि लेला स्कन्दरले एक गोल फर्काइन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चार वटै गोल दोश्रो हाफमा भएको हो । ५६औं मिनेटमा थेइङ्गीले २० यार्डबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएपछि म्यानमारले १-० को अग्रता लिएको थियो ।
५९औं मिनेटमा लेबनानकी लेलाले गोल फर्काएपछि खेल १-१ को बराबरी अवस्थामा पुगेको थियो । तर, यो बराबरी लामो समयसम्म टिक्न सकेन । त्यसलगत्तै ७२ औं मिनेटमा श्वेले हेडरमार्फत उत्कृट गोल गर्दै म्यानमारलाई २-१ को अग्रता दिलाइन् ।
त्यसको दुई मिनेटपछि सानले गोल गर्दै म्यानमारलाई ३-१ को जित दिलाइन् । म्यानमारको जितका लागि गोल गरेको श्वे र सान दुवै वैकल्किप खेलाडीको रुपमा खेलको दोश्रो हाफमा मैदानमा प्रवेश गरेकी थिइन् ।
जितसँगै म्यानमारले ३ अंक जोडेको छ । आज हुने दोस्रो खेल घरेलु टोली नेपाल र किर्गिस्तानबीच हुनेछ । खेल साँझ ६ बजे सुरु हुनेछ ।
