मच्छिन्द्र फुटबल क्लब काठमाडौं इटहरीमा जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार इटहरी रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा झापा ११ फुटबल क्लबलाई १-० ले निराश बनाउँदै मच्छिन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो ।
मच्छिन्द्रको तर्फबाट ३१औं मिनेटमा मलिक बामिदेले युसुफले गरेको गोल निर्णायक बन्यो । मच्छिन्द्रले पुरै खेल अवधिभर झापा एघारलाई दबाबमा राख्यो ।
खेलको म्यान अफ दि म्याच पनि मलिक नै भए । उनले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज यूनाइटेड काठमाडौं र धरान फुटबल क्लबबिच हुनेछ । फागुन १० गतेसम्म चल्ने गोल्डकपको विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिनेछ ।
