अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा यही फेब्रुअरी १७ देखि २६ सम्म हुने चार देशसम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

एन्फाले पहिलोपटक आयोजना गर्न लागेको चार देश सम्मिलित उक्त प्रतियोगितामा नेपालसँगै किर्गिस्तान, म्यान्मा र लेबनानको सहभागिता रहनेछ ।

प्रतियोगिताको लागि ब्रोडकास्टिङ तथा टिकेटिङ र डिजिटल अधिकार ब्रान्ड लजिकलाई प्रदान गरिएको छ । १ करोड ३५ लाख टिकटिङ अधिकार तथा ६६ लाखमा ब्रोडकास्टिङ अधिकार बिक्री गरेको एन्फाले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको टिकट दर भीआईपीतर्फ एक हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै एन्फाले सहभागी टोली शुक्रबार सम्म काठमाडौं आइपुग्ने बताएको छ । यी टोलीले अभ्यासका लागि सातदोबाटोस्थित एन्फा मुख्यालय मैदान र भद्रकालीस्थित नेपाली सेनाको खेलमैदान प्रयोग गर्नेछन् ।

प्रतियोगिताको अनुमानित बजेट करिब दुई करोड ५० लाख ५६ हजार १०४ रुपैयाँ रहेको एन्फाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *