केराबारी । पानवारी फुटबल क्लब धरान मोरङको केराबारीमा जारी तेस्रो मच्छिन्द्र कप खुला पुरूष नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
बुधबार केराबारी-८ स्थित केराबारी रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा बेलबारी फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पन्छाउँदै पानवारी फाइनलमा पुगेको हो ।

पानवारीको जितमा बिदेशी खेलाडी जोना ग्लोरी नायक बने । म्यान अफ दी म्याच बनेका उनले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्दै टिमको जित निश्चित गरेका हुन् । ग्लोरिले ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताअन्तर्गत बिहिबार चात्यासा दमक र आयोजक केराबारी फुटबल क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले रु ३ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले रु १ लाख ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल पुस २६ गते हुनेछ ।
