बेलबारी । मोरङको बेलबारीमा जारी पाँचौं माघे संक्रान्ति नकआउट फुटबल प्रतियोगितामा डाँँगीहाट फुटबल क्लब मोरङ सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ ।
बेलबारी नगरपालिका वडा नं.१ स्थित नक्सलबारीको खेलमैदानमा भएको दोस्रो क्वाटर फाइनल खेलमा झापाको रोयल स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४-१ गोलले पराजित गर्दै डाँँगीहाटले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो ।
निर्धारित समयमा खेलको ५६औं मिनेटमा डाँँगीहाटका सबिन राईले टिमलाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेट पछि नै झापाका सौगात बिकले गोल गर्दै खेल बराबरीमा पुऱ्याए । त्यसपछि बाँकी समयमा कुनै गोल नभएपछि खेल सिधै टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा डाँँगीहाटका गोलरक्षक कुमार तामाङ नायक बने । उनले झापाको दुई पेनाल्टी बचाए । खेलको म्यान अफ द म्याच पनि तामाङ भए । उनले नगद २,५०० पुरस्कार पाए ।
भोलि बिहिबारको तेस्रो क्वाटर फाइनल खेल इन्ट्रा पथरी एघार मोरङ र पानबारी फुटबल क्लब धरानबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरी कुल आठ क्लबको सहभागिता रहेको छ ।
नक्सलबारी फुटबल क्लब बेलबारीको आयोजना तथा नेपाल मगर संघ बेलबारी र जनज्योति क्लबको संयोजनमा जारी प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ । प्रतियोगिताको विजेताले उपाधि सहित नगद १ लाख १ हजार तथा उपविजेताले नगद ५१ हजार पुरस्कार पाउने छन् ।
