दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सन् २०२५ को साफ च्याम्पियनसिप ‘होम एन्ड अवे’ फर्म्याटमा आधारमा लिग ढाँचामा आयोजना गर्ने तयारी गरेको छ।
साफको बुधबार काठमाडौंमा बसेको कार्यकारी समितिको बैठक उक्त निर्णय गरेको हो । बैठकले १५औं संस्करण यही जुन १५ देखि जुलाई २५ सम्म आयोजना गर्ने तय पनि गरेको छ ।
यसैगरी प्रतियोगिता अब प्रत्येक दुई वर्षमा हुने भएको छ । ‘हामी च्याम्पियनसिपलाई होम एन्ड अवे पद्धतिमा आयोजना गर्ने प्रयासमा छौं । तर, कुनै समस्या आएमा यस वर्ष भने प्रतियोगिता विगतको जस्तै हुनेछ,’ साफका महासचिव अनवरुल हकले बैठकपछि भने ।
हालसम्म च्याम्पियनसिपको १४ संस्करण सम्पन्न भइसकेका छन् । तर कुनै पनि ‘होम एन्ड अवे’ पद्धतिमा भएका छैनन् ।
बैठकले २०२६ देखि आठ टोलीको सहभागितामा साफको पहिलो क्लब प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ । एएफसी क्लब र्याङ्किङमा शीर्ष स्थानमा रहेका देशलाई पनि स्थान दिइने हकले जानकारी दिए ।
साफ महिला क्लब प्रतियोगिता पनि २०२५ देखि आयोजना गर्ने योजना बनाइएको छ । त्यसैगरी, २०२६ देखि साफ यु–२३ च्याम्पियनसिप पनि आयोजना हुने भएको छ ।
बैठकले स्वीकृत गरेको साफ युवा प्रतियोगिताहरु:
साफ यू-१९ च्याम्पियनसिप: ८-१८ मे २०२५
साफ यू-२० वुमन्स च्याम्पियनसिप: ११-२१ जुलाई २०२५
साफ यू-१७ वुमन्स च्याम्पियनसिप: १४-२४ सेप्टेम्बर २०२५
साफ यू-१७ च्याम्पियनसिप : १७-२७ अक्टोबर २०२५
