हेटौंडा । हेटौंडामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधिको लागि काठमाडौँ र दोलखा भिड्ने भएका छन् ।

हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबले ललितपुर फुटबल क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै दोलखासँगको उपाधि भिडन्त पक्का गरेको हो ।

काठमाडौँको जितमा यमन महर्जनले दुई तथा सुजित बुढाथोकीले एक गोल गरे । पराजित ललितपुरका लागि रामकृष्ण चौधरीले एक गोल फर्काए ।

खेल शुरु भएको ३ मिनेटमै यमनले गोल गर्दै काठमाडौँलाई सुरुवाती अग्रता दिलाएका थिए । ४२औं मिनेटमा ललितपुरका रामकृष्ण चौधरीले गोल गर्दा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

खेलको ४८ औं मिनेटमा काठमाडौँका महर्जनले पुनः गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्याए । त्यसैगरी खेलको ६६औं मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै टिमलाई सहज जित दिलाए ।

खेलको म्यान अफ द म्याच काठमाडौँका यमन महर्जन घोषित भए । उनले ३ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे।

काठमाडौँले शनिवार फाइनलमा दोलखासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा दोलखाले सिन्धुलीलाई हराउँदै उपाधि नजिक पुगिसकेको छ ।

प्रदेशका १३ जिल्ला मध्ये ११ जिल्लाका ११ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *