साउदी अरबको क्लब अल हिलालले इंग्लिस क्लब लिभरपुलबाट स्टार फरवार्ड मोहमद सालाह अनुबन्ध गर्नका लागि छलफल सुरु गरेको छ ।

इजिप्टका ३२ वर्षीय कप्तान सालाहको लिभरपुलमा यो सिजनको अन्त्यसँगै सम्झौता सकिँदैछ । युरोपका अन्य केही क्लब पनि फ्री ट्रान्सफरमा सालाह अनुबन्ध गर्न इच्छुक देखिएका छन् । बार्सिलोना र पिएसजीको नाम सालाहसँग जोडिएको छ । तर साउदी अरबको पत्रिका ‘सुट’ले अल हिलालले सालाह भित्र्याउन सबैखाले प्रयास गर्ने दाबी गरेको छ ।

दुई वर्षअघि पिएसजीबाट अल हिलालले महँगो तलब सुविधा दिएर ब्राजिलियन स्टार नेइमार अनुबन्ध गरेको थियो । तर नेइमारले लगातार चोटका कारण खराब समय बिताए । दुई वर्षको सम्झौता सकिन लाग्दा नेइमारले अल हिलालका लागि जम्मा ७ खेल मात्रै खेलेका छन् । एक वर्षपछि चोटमुक्त भएर मैदान फर्किंदा पनि नेइमारले दुई खेलमा मात्रै ४२ मिनेट खेलेपछि पुनः घाइते भएर मैदान बाहिर छन् ।

यो सिजनको अन्त्यसँगै हिलालमा नेइमारको सम्झौता सकिनेछ । र, क्लब सम्झौतापछि उनको बिदाइ गरेर नयाँ खेलाडी अनुबन्ध गर्न चाहन्छ ।

यस वर्ष २०२५ मा अल हिलालले फिफा क्लब विश्वकप खेल्नेछ । शीर्ष प्रतियोगितामा छनौट भइसकेको हुँदा अल हिलाल युरोपबाट एक स्टार खेलाडी अनुबन्ध गर्न चाहन्छ । त्यसका लागि अहिले इजिप्टका स्टार सालाह अल हिलालका लागि सबैभन्दा उत्तम विकल्प हुन सक्छन् । लिभरपुलमा सम्झौता सकिएपछि १ रुपैयाँ खर्च नगरी भित्र्याउन पाइने भएकाले पनि अल हिलाल सालाहका लागि सबैभन्दा पहिला अघि आउन सक्छ । तर सालाह ३२ वर्षमै युरोप छाडेर साउदी क्लब जान तयार हुन्छन् वा हुँदैनन् भन्ने कुराले यो डिलको भविष्य तय गर्नेछ ।

साउदी पत्रिका ‘सुट’ले प्रकाशित गरेको रिपोर्टमा भनिएको छ कि, अल हिलाल नेइमारको प्रतिस्थापनका रूपमा सालाह भित्र्याउन चाहन्छ । खास गरी अल हिलाल फिफा क्लब विश्वकपकै लागि सालाहलाई अनुबन्ध गरेर नयाँ ढंगले टिम निर्माण गर्न चाहन्छ ।

यो सिजन लिभरपुलमा सालाहले सर्वोत्कृष्ट सिजन बिताइरहेका छन् । आजका दिनसम्म उनी यस वर्ष २०२५ को बालोन डी’ओर अवार्डका लागि नम्बर १ दाबेदार मानिएको छ । अल हिलालले नेइमारलाई भन्दा आकर्षक तलब र सुविधा दिएर सालाहलाई भित्र्याउने छ ।

यो डिल भएमा सालाह अल नासरका क्रिस्टियानो रोनाल्डोपछि दोस्रो ठूलो कमाई गर्ने खेलाडी बन्नेछन् । अहिले साउदीमा रोनाल्डोसँगै अल इत्तिहादका फ्रेन्च स्टार करिम बेन्जेमा सर्वाधिक कमाइ गर्ने खेलाडी छन् । तेसो स्थानमा सेनेगलका स्टार साडियो माने रहेका छन् । अब सालाहको अनुबन्ध सफल भएपछि उनी दोस्रो सर्वाधिक कमाइ गर्ने खेलाडी बन्नेछन् । गत सिजन ट्रिबेल उपाधि जितेको अल हिलालले यो सिजन एक प्रतियोगिता हारिसकेको छ भने बाँकी सबैमा उपाधि होडमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *