विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार छैटौं जित निकालेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले वालिङ नगरपालिकालाई १०-० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । यसअघि एपिएफले वालिङलाई नै ९-० ले हराएको थियो ।

एपिएफको जितमा रश्मीकुमारी घिसिङले एक्लैले चार गोल गरिन् । त्यस्तै, सरु लिम्बु र सविता रानामगरले समान दुई गोल गर्दा प्रीति राई र रेनुका नगरकोटेले समान एक गोल गरिन् ।
खेलको सातौं मिनेटमा रश्मीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । एक मिनेटपछि रश्मीले नै एपिएफको अग्रता दोब्बर बनाइन् । प्रीतिले २०औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरिन् ।
खेलको २३औं मिनेटमा सरुले गोल गर्दा एपिएफको अग्रता ४-० मा पुग्यो । एक मिनेटपछि नै रेनुकाले एपिएफका लागि पाँचौं गोल गरिन् । २७औं मिनेटमा सरुले व्यक्तिगत दोस्रो गाेल गर्दा एपिएफले ६-० ले अघि बढ्यो ।
रश्मीले ५४औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । पाँच मिनेटपछि नै रश्मीले व्यक्तिगत चौथो गोल गर्दा एपिएफले ८-० को अग्रता बनायो । सविताले ८३ र ८५औं मिनेटमा गोल गर्दै एपिएफलाई १०-० को सानदार जित दिलाइन् ।

खेलको प्लेयर अफ दि म्याच एपिएफकी प्रीति राई घोषित भइन् ।
जितसँगै शीर्षस्थानको एपिएफले ६ खेलमा १८ अंक जोडेको छ । वालिङको यो लगातार छैठौं हार हो । छैटौं खेल हारेको वालिङ तालिकाको पुछारमा छ ।
एपीएफसहित दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्लेअफमा स्थान बनाइसकेका छन् । प्लेअफ पुग्ने चौथो टोलीका लागि बाग्मती युथ क्लब र वालिङ प्रतिस्पर्धामा छन् ।
