ललितपुर । एन्फा महिला लिगको अन्तिम चरणमा बिभागिय टोली नेपाल पुलिस क्लबले शानदार सुरुआत गरेको छ । पुलिसले आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकामाथि ५-० को फराकिलो जित हासिल गर्यो ।
शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन सम्झना लावती र अनुस्का शेर्पाले समान २ गोल गर्दा पूजा राणाले एक गोल गरिन् ।
खेलको २६औं मिनेटमा अनुस्काले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् । पहिलो हाफको इन्जुरी समयमा सम्झनाले गोल गरेपछि पुलिसले अग्रता दोब्बर बनायो ।
दोस्रो हाफको पहिलो मिनेटमै पूजाले गोल गर्दा पुलिस ३-० ले अघि बढ्यो । तीन मिनेट पछि नै अनुस्काले ब्यक्तिगत दोस्रो तथा पुलिसका लागि चौथों गोल गरिन् । खेलको ६०औं मिनेटमा सम्झनाले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि पुलिसले फराकिलो जित हात पारेको हो ।
जितसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै वालिङ पुछारमा झरेको छ ।
गत भदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणमा पुगेका हुन् ।प्रतियोगितामा बिभागिय तीन टोली नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसंगै वालिङ नगरपालिका र बागमती युथ क्लब सहभागि छन् ।
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा कूल २४ खेलहरु हुनेछन् । लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन् ।
लिगमा शनिबार एपिएफ र बागमतीबिच खेल हुनेछ ।
