इटालियन सुपर कपको उपाधिका लागि एसी मिलान र इन्टर मिलान भिड्ने भएका छन् ।

शुक्रबार साउदी अरबस्थित अल-अवाल पार्कमा भएको दोस्रो सेमिफाइनल खेलमा एसी मिलानले युभेन्टसलाई २–१ गोलको अन्तरले पराजित गर्दै इन्टर मिलानसँगको भेट पक्का गरेको हो । इन्टर मिलानले एटलान्टालाई पराजित गर्दै फाइनलमा अघिल्लो दिन नै स्थान बनाएको थियो ।

खेलमा सुरुवाती अग्रता भने युभेन्ट्सले लिएको थियो ।खेलको २१औं मिनेटमा केनान यिल्डिजले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० को अग्रता लिएको युभेन्ट्स दोस्रो हाफमा भने सम्हालिन सकेन । खेलको ७१औं मिनेटसम्म मिलानले गोल फर्काउन सकेको थिएन । तर, पूर्व-मिलान खेलाडी म्यानुअल लोकाटेलीले क्रिस्टियन पुलिसिचलाई फउल गरेपछि मिलानले पेनाल्टी पायो । पुलिसिचले पेनाल्टीलाई सदुपयोग गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यसको चार मिनेटपछि खेलको ७५औँ मिनेटमा युभेन्ट्सका फेडेरिको गाट्टीले आत्मघाती गोल गरेपछि एसी मिलान २-१ को जित निकाल्न सफल भयो । एसी मिलान र इन्टर मिलानबिच हुने फाइनल खेल सोमबार राति हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *