सिन्धुपाल्चोक । दोस्रो संस्करणको प्रविण घले स्मृति कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको मिति परिर्वतन भएको छ ।
लिल फङ (घले समाज) सिन्धुपाल्चोकको आयोजनामा हुने प्रतियोगिता आगामी माघ १ गतेदेखि मा ७ गतेससम्म हुने भएको हो ।
यसअघि पुस २४ देखि माघ १ गतेसम्म सञ्चालन हुने तालिका थियो । तर, प्राविधिक कारण कारणले मिति परिवर्तन गर्नु परेको आयोजकले बिहीबार जनाकारी दिएको हो ।
प्रतियोगिताको विजेताले नगद १ लाख ६० हजार पाउने छ भने उपविजेताले ८० हजार पाउने छ । प्रतियोगिताको पुरस्कार राशि गत बर्षको तुलनामा करिब ९ हजार रुपैयाँले बढी हो ।
गत संस्करण रोयल फेमिलीले चौताराले बाह्रदेवी युवा क्लब बाह्रविसेलाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो ।
यस्तै, प्रतियोगितामा टिम दर्ताको लागि पुस २७ गते अन्तिम मिती तोकिएको छ । टिम दर्ताको लागि ७ हजार ५०० रुपैयाँ लाग्ने छ भने प्रतियोगिता अवधिभर सहभागि टिमका खेलाडीको बिमा पनि रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सबै खेल सदरमुकाम चौतारास्थित मिनी रंगाशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा १६ टिम सहभागी गराउने आयोजकले जनाएको छ ।
