स्युचाटार क्रिकेट लिग इनडोर टी-टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ ।

काठमाडौँ स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इनडोर मैदानमा आज सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्यो ।

उपाधि जित्न ५९ रनको लक्ष्य पाएको किंग्सले ९. २ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गयो। किंग्सका ओपनर आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाए जो प्लेयर अफ द फाइनल पनि घोषित भए । यस्तै प्रदीप चन्दले १७, प्रसिद्ध श्रेष्ठले अविजित ८ तथा नरेन्द्र चन्दले अविजित ६ रन बनाए । ओपनर द्वय आश्रय र प्रदीपले ४० रनको साझेदारी गर्दै जितको आधार तयार गरे । ग्रेट हिमालयका नितेश कुमार र सन्दीप पराजुलीले १-१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ५ विकेट क्षतीमा ५८ रन बनायो । उसको लागि सक्षम बस्ताकोटीले सर्वाधिक १७ रन बनाए । रुपेश श्रीवास्तवले १२, सरोज खत्रीले अविजित ९ रन बनाए । किंग्सको बलिङमा आश्रय अधिकारी र प्रसिद्ध श्रेष्ठले १-१ विकेट लिए।

उपाधि सहित किंग्स क्रिकेट एकेडेमीले १ लाख रुपैयाँ पायो । उपविजेता ग्रेट हिमालयले ४० हजार रुपैयाँ पायो । प्लेयर अफ द सिरिज घोषित टिम बिडीएमएसका नीरज भट्ट घोषित भए जसले १० हजार रुपैयाँ पाए । यस्तै उत्कृष्ट बलर पनि निरज नै घोषित भए भने उत्कृष्ट ब्याटर टिम बिडीएसका जतिन थापा घोषित भए । उत्कृष्ट ब्याटर र बलरले समान ५ हजार रुपैयाँ पाए ।

उपाधि विजेता खेलाडीहरूलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य ध्यान गोविन्द रन्जितले पुरस्कार प्रदान गर्नु भयो । पुरस्कार वितरण समारोहमा ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नानु बास्तोला, नेपाली काँग्रेसका नेता श्याम कृष्ण खड्का लगायतको उपस्थिति रहेको थियो ।

तारकेश्वर यूथ क्लबको आयोजनामा ८ दिन सञ्चालित प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रतियोगिताका निर्देशक सञ्जय अधिकारीले प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको र आगामी वर्ष यो भन्दा अझ भव्य बनाउने वचनबद्धता व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *