संकटा फुटबल क्लब सभापति कप फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहीबार सम्पन्न उद्घाटन तथा पहिलो क्वार्टरफाइनल खेलमा संकटाले ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइजलाई ३-० गोलले पराजित गरेको हो ।

संकटालाई जित दिलाउन अबेका रिर्चडले दुई र चन्दन दासले एक गोल गरे । खेलको २३औं मिनेटमा रिचर्डले गोल गरेपछि पहिलो हाफमा संकटा १-० ले अघि रहेको थियो ।

बोअटेन्ग इमानुयलको पासमा रिचर्डले पेनाल्टी बक्स नजिकबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ७०औं मिनेटमा श्रीजन क्षेत्रीको पासमा रिचर्डले व्यक्तिगत दोश्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाएका थिए ।

त्यसतगत्तै ७२औं मिनेटमा रिबाउन्ड बललाई चन्दनले गोलमा परिणत गरेपछि संकटा ३-० ले विजयी भयो । पहिलो खेल जित्दै संकटाले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

यता पहिलो खेलमै अप्रत्याशित हार व्यहोरेको चर्च ब्वाइज भने प्रतियोगिताको क्वार्टरफाइनलबाट नै बाहिरीएको छ ।

संकटालाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका रिचर्ड खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

संकटाले अब फाइनल प्रवेशका लागि मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली नेपाल एपीएफ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *