चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।शनिबार राती भएको तेस्रो चरणको खेलमा चौथो डिभिजनको क्लब मोरेकम्बलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सी एफए कपको चौथो चरणमा पुगेको हो ।
घरेलु मैदानमा एकतर्फी जित निकाल्न चेल्सीका टोसिन अदाराबायोले र जाओ फेलिक्सले समान दुई तथा क्रिस्टोफर एनकुन्कुले एक गोल गरे ।
खेलको १७औं मिनेटमा एनकुकु पेनाल्टीमा चुक्दा चेल्सीले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो । खेलको ३९औं मिनेटमा अदाराबायोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप चार गोल गर्यो ।
खेलको ५०औं मिनेटमा एनकुन्कुले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । त्यसैगरी ७०औं मिनेटमा अदाराबायोले ब्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता ३-० मा पुर्याए । फेलिक्सले ७५ र ७७औं मिनेटमा गोल गर्दै चेल्सीलाई ५-० को शानदार जित दिलाए ।
